काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताउनुभएको छ ।
गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको जानकारी दिनुभएको हो ।
‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले भन्नुभयो । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आउनुभएको थियो । गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै आइरहेका थिए ।
यता बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि गठबन्धन जोगाउने पक्षमा रहेको बताउनुभयो। उहाँले दलहरु पुनः छलफलमा बस्ने बताए पनि समय भने बताउन सक्नुभएन ।