काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ भोली हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार भोली अपराह्न ४ बजेका लागि सपथको समय तोकिएको हो।
प्रचण्ड आज प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले पुस ३ गते एक सूचनामार्फत् पुस १० गतेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । संविधानको धारा ७६ (२) अनुसार दाबी पेस गर्न भनिएकोमा प्रचण्डले आज दाबी गर्नुभएको थियो ।
प्रचण्डको दाबीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाको साथ छ। त्यस्तै, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा अमरेशकुमार सिंहको पनि साथ छ।
प्रचण्ड प्रतिनिधि सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा संसदीय दलको नेता हुन्। २७५ सदस्यीय प्रतिनिधि सभामा माओवादी केन्द्रको ३२ सिट मात्रै छ।