काठमाडौं । बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनमा बिहीबार(आज) सुनुवाइ हुन पाएन । आजका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने हुँदै सरेको छ ।
सन्दीपको निवेदनको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा तोकिएको थियो । तर आज हेर्न नभ्याइने हुँदै उक्त निवेदनमाथि सुनुवाइ हुन सकेन ।
नाबालिग किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए ।
यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजात समेत पेस गरेका थिए । सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको बर्थ सर्टिफिकेट झिकाउने आदेश दिएको थियो ।
भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ । पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक बलात्कार गरेको बयान दिएकी छन् ।
उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नफर्किएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो । त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए ।
पछि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो । त्यसयता उनी केन्द्रीय कारागार सुनधारामा छन् ।