काठमाडौं । कारोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । बुटवल, चितवन र धरानमा गरि ३ जनाको मृत्यु भएको हो ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
यता, चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गयराति मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभएको छ ।
यसैबिच, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत अर्का एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको धनपालथान ६ का ४० वर्षीय पुरूष रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ । मृतकमा कुनै पनि दीर्घ रोग नभएको बताईएको छ ।