Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
पोखरा विमान दुर्घटना

पोखरा विमान दुर्घटनामा पर्वतका १० जनाको ज्यान गएको पुष्टि

पोखरा विमान दुर्घटनामा पर्वतका १० जनाको ज्यान गएको पुष्टि

  • सोमवार, माघ २ २०७९

  • 446
    SHARES

  • पोखरा विमान दुर्घटनामा पर्वतका १० जनाको ज्यान गएको पुष्टि
    काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।
        
    मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा–९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीय प्रसिद्धि पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । 
     
    मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहेका छन् । शर्मा परिवारमा आमा, छोरा, नाति र नातिनी एउटै विमान दुर्घटनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरू माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए । 
     
    दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ । काठमाडौंको बृहस्पति विद्याश्रममा ५ कक्षामा पढ्ने  प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।
     
    ‘छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौं भनेर जन्मघर आउन लाग्नुभएको रहेछ,’ अरुणका छिमेकी उपेन्द्र अधिकारीले भन्नुभयो, ‘उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।’ केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए । पौडेल गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । 
     
    दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।


    सोमवार, माघ २ २०७९०७:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij