काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्सपेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गर्नुभएको छ ।
संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानविन गरी कारबाही अघि बढाउन आग्रह गर्नुभयो । ‘मोटरसाइकल वा साइकलले ठोकेर कसैको मृत्यु भयो भने प्रहरीले सवारी धनीलाई खोजेर ल्याउँछ । पक्राउ गरेर हिरासतमा राखेपछि बल्ल छानविनको प्रक्रिया जान्छ । एउटा मोटरसाइकलले ठक्कर दिएर मान्छे मार्दा आम जनताले पाउने न्याय त्यहीँ हो’ राउतले भन्नुभयो, ‘यहाँ पुरानाभन्दा पुराना थोत्रा प्लेन ल्याएर सञ्चालन गर्ने सञ्चालक र त्यसलाई सञ्चालन गर्न अनुमति दिने अधिकारी, उडान भर्न अनुमति दिने इन्सपेक्टरको टोलीलाई पक्राउ गरेर छानविन गर्न कुनचाँहि विधिले दिँदैन ? त्यसमा हामी जान्न चाहन्छौं ।’
सरकारले कि सानालाई ऐन ठुलालाई चयन हुन्छ भन्नुपर्यो नभए तत्काल छानविन गरेर कारबाही हुनुपर्ने राउतले बताउनुभयो ।