काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आज अपराह्न चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गर्नुभएको हो । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहनुभएको छ ।
त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे हुनुहुन्छ भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो ।
सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए ।
सभामुखमा निर्वाचित एमाले उम्मेदवार देवराज घिमिरेले एमालेसहित माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । सभामुख चुनावमा देखिएको गठबन्धनले उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको छ । उपसभामुखको निर्वाचन भोलि हुँदैछ ।