काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाले आज उपसभामुख पाएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ । उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहनुभएको थियो ।
इन्दिरा राना मगरलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरूले मतदान गरेका थिए । नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उहाँ सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन । नवनियुक्त उपसभामुखको विगतलाई स्मरण गर्दै सांसद सोबिता गौतमले लामो समयदेखि सामाजिक रूपान्तरणमा सक्रिय मगरलाई अहिले न्याय भएको दाबी गर्नुभयो ।
यता, नेपाली कांग्रेसले कतै संविधानको हत्या गरिन्छ की भनेर चिन्ता लागेको जनाउ दिएका छ । संसद् भवनबाहिर बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरू सरकारमा जाने नभई संविधान र लोकतन्त्रको पक्षमा रहेकोले खबरदारी गरिरहेको बताउनुभयो ।
प्रतिनिधिसभाको इतिहासमा ९ जना सभामुख निर्वाचित हुँदा सोही अवधिमा उपसभामुख भने १२ जना भएका छन् । २०१६ सालको पहिलो प्रतिनिधिसभादेखि २०७९ सम्म आइपुग्दा ५ पुरुष र ७ महिला उपसभामुख बनेका हुन् । आज निर्वाचित इन्दिरा रानामगर नेपालको संसदीय इतिहासमा १२ औं उपसभामुख हुन् भने महिलाको हिसाबले सातौं हुन् । पञ्चातकालको ३० वर्षको अवधिमा राष्ट्रिय पञ्चायतको अभ्यासबाहेक राजतन्त्र र गणतन्त्रकालीन प्रतिनिधिसभा, संविधानसभा र व्यवस्थापिका संसद् समेत गरी १२ उपसभामुख निर्वाचित भएका हुन् । नेपालको संसदीय इतिहासमा महेन्द्रनारायण निधी पहिलो उपसभामुख हुन् । निधी नेपाली कांग्रेसका तर्फबाट २०१६ सालमा उपसभामुख बन्नुभएको थियो । क्रमशः महन्थ ठाकुर २०४८ साल, रामविलास यादव२ ०५१ साल, लीला श्रेष्ठ सुब्बा २०५५ साल, उहाँको निधन पश्चात् भोजराज जोशी २०५५ असोज २८ गते उपसभामुख चयन हुनुभएको थियो ।
त्यस्तै, चित्रलेखा यादव २०५६ साल, पूर्णकुमारी सुवेदी २०६५ मंसिर १३ गते, ओनसरी घर्ती २०७० फागुन १४ मा, गंगा प्रसाद यादव २०७२ मा संविधान जारी भएपछि ओनसरी व्यवस्थापिका संसद्को सभामुख भएपछि राप्रपा नेपालबाट उपसभामुख बन्नुभएको थियो । डा.शिवमाया तुम्बाहाम्फे २०७४ चैत ०४ देखि २०७६ माघ ०६ गतेसम्म उपसभामुखमा रहनुभएको थियो । त्यसैगरी, पुष्पा भुसाल २०७९ असार ३१ देखि २०७९ असोज ०१ गतेसम्म उपसभामुख बन्नुभएको थियो ।