काठमाडौं । महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिन संसद् भवन पुगेका सांसद कोइरी गृहमन्त्रीसँगैको लाइनमा उभिएका थिए । उच्च अदालत जनकपुरले पुर्पक्षका लागि उनलाई पक्राउ गरी थुनामा राख्न आदेश दिइसकेको छ । तर कोइरी निर्बाध रुपमा हिँडिरहेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सांसद कोइरीलाई निलम्बन पनि गरेको छैन । नेपाली कांग्रेसले हत्या आरोप लागेका सांसद निर्बाध हिँडिरहेको भन्दै आपत्ति जनाएको छ । सांसद रामहरि खतिवडाले गृहमन्त्रीकै अगाडि आवतजावत गरिरहेका कोइरीलाई पक्राउ गर्न नसक्नु गलत परम्पराको बिस्तार भइरहेको बताउनुभएको छ ।
गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताउनुभयो । प्रहरीले कुनैपनि हालतमा कोइरीलाई पक्राउ गर्ने उहाँको दाबी छ ।
माघ ६ गते गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो । गृहमन्त्री लामिछानेमाथि नै नैतिकताको प्रश्न उठ्न थालेपछि गृहले विज्ञप्ति जारी गरेको थियो । गृहमन्त्री लामिछानेले सञ्चारकर्मीका माझ चाँडै रिजल्ट आउने पनि बताउनुभएको छ ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रहरी प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् । उनीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् । कोइरीको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका पनि गरिएको छ ।
संविधानको धारा १०३ को उपधारा–६ का अनुसार संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न पाइँदैन । तर, फौजदारी अभियोगमा भने पक्राउ गर्न पाउने व्यवस्था छ ।