काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले बताउनुभयो।
जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदै छन् । राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।
साथै, जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य साना दलहरूसँग पनि एकीकरणका लागि छलफल गरिरहेको छ । विभिन्न पार्टीसँगको एकता प्रक्रियाका विषयमा समीक्षात्मक छलफल हुने बताइएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा ११ बजेदेखि बस्ने भनिएको छ ।