काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताउनुभएको छ ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उहाँले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने जिकिर गर्नुभयो ।
राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्ने समय नजिकिएको भन्दै नेपालले एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुने बताउनुभएको छ । सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबैखाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको दावी छ ।
अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा चलिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताउनुभयो ।