काठमाडौं । राष्ट्रपति उम्मेदवारको लागि मनोनयन गर्ने दिन नजिकिएसँगै दलहरूमा रस्साकस्सी बढेको छ । हालसम्म राष्ट्रपति को बन्ने भन्ने टुंगो नलागिसकेका बेला नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा दौडधुप बढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सार्नुभएको छ । आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उहाँले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै ओलीले प्रचण्डलाई तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको बताइएको छ । एमाले नेता एवं उपप्रधानमन्त्री, अर्थमन्त्री विष्णु पौडेलले एमालेले सिफारिस गरेको व्यक्ति नै राष्ट्रपति हुने दाबी गर्नुभएको छ ।
यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घटनाक्रमबारे सचिवालय सदस्यहरूलाई ब्रिफिङ गर्नुभएको हो । ब्रिफिङका क्रममा अध्यक्ष नेपालले ओली र आफूबीच चार घण्टा कुराकानी भएपनि ओलीले राष्ट्रपतिबारे उच्चारण नै नगरेको बैठकमा जानकारी दिनुभएको छ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार राष्ट्रपतिको प्रस्ताव आएमा पार्टीले स्विकार्ने र राजनीतिक दलबाटै राष्ट्रपति हुने बताउनुभयो ।
बैठकमा राष्ट्रपतिबारे पुनः प्रस्ताव आउन सक्ने र त्यसबेला के गर्ने भन्ने विषयमा समेत छलफल भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार यदि प्रस्ताव आएमा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पुन छलफल गर्ने निर्णय भएको पनि बताउनुभयो । नेकपा एकीकृत समाजवादीको भागमा राष्ट्रपति आए झलनाथ खनाललाई बनाउनुपर्ने आवाज पनि उठ्दै आएको छ । यता, नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसले राष्ट्रपतिको बलियो उम्मेदवार दिने दाबी गर्नुभएको छ ।
राष्ट्रपति पदको गरिमा भन्दा बाहिर गएर अपवित्र साँठगाँठले यसको महत्त्वमाथि चुनौती थप्दै गएको छ । यदि राष्ट्रपति नै छनोट गर्ने हो भने साझा सहमति आवश्यक देखिन्छ, तर रबर स्ट्याम्प नै छनोट गर्ने प्रक्रिया भए गलत भइरहेको छ ।