वीरगञ्ज । बारा,पर्सा र सर्लाहीका थप ५२ जनामा कोरोना संक्रमण पष्टि भएको छ। वीरगञ्जमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा १ सय ९२ वटा स्वाब नमुना परीक्षण गर्दा ११ महिलासहित ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार संक्रमित हुनेहरुमा ४ महिनाको शिशुदेखि ६८ वर्ष उमेरकासम्मका रहेका छन् । सबैभन्दा बढी बारामा ४५ जनामा, पर्सामा ६ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । पर्सामा वीरगञ्जस्थित बाल सुधार गृहका तीन जना, वीरगञ्ज–३ र वीरगञ्ज–१९ मा १,१ जनामा कोरोना संक्रमण देखिएको छ । अर्का एक जना संक्रमितको वडा खुलेको छैन ।
यसैगरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीका ८ जना, सोही गाउँपालिकाको अस्थायी प्रहरी चौकीका १, सुखीपठारका २ तथा श्रीपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कलैया उपमहानगरपालिकाका ३३ र महागढीमाईका १ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको भने सर्लाहीका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।