काठमाडौं । पछिल्लोपटक कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्य भएको छ । ललितपुर, पाल्पा बुटवलमा र चितवनमा गरी ७ जनाको मृत्यु भएको हो ।
पछिल्लो पटक ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ । ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट हिजो शुक्रबारदेखि आज बिहानसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
कार्यालयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकै ६८ वर्षीया महिलाको हिजो मृत्यु भएको हो ।
त्यसैगरी, असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उता, निमोनियाका कारण बिरामी परेकी पाल्पाको तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
यस्तै, बुटवलको कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुभएको छ ।
यसैगरी, चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।