काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपसी सद्भाव र मित्रता कायमगरी अनुशासित तरिकाले होली पर्व मनाउन आग्रह गर्दै पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सो शुभकामना व्यक्त गर्नुभएको हो।
“रङ्गिन पर्व फागु पूर्णिमा अर्थात् रङ्गहरूको उत्सव होली २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ ।
यस वर्ष फागुन २२ गते पहाडमा र २३ गते तराईमा मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन मिथिला परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले एक दिन विश्राम गरेर भोलिपल्ट सद्भावको रुपमा मनाइने यस पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त धर्मनिरपेक्ष राष्ट्रको रुपमा व्यवस्था गरेको चर्चा गर्दै उनले हाम्रा मौलिक धर्म संस्कृति तथा परम्पराहरू राज्यका सम्पत्ति भएको चर्चा गर्नुभएको छ । यस्ता परम्परा तथा चाडपर्वको संरक्षण र संवर्द्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
पछिल्ला दिनमा विभिन्न नशालु पदार्थ सेवन गरी अराजक शैलीमा हानिकारक रङ्गहरू मिसाएर अर्कालाई दुख दिने, बाटोमा हिँडिरहेका बटुवामा बिना अनुमति र चाह लोला हान्ने प्रवृत्तिले यस पर्वमा धेरैको रमाइलो गर्ने, खेल्ने र मनाउने उत्साहमा कमी भएको उहाँले बताउनुभएको छ। उछृङखल काम कसैलाई नगर्न पनि अध्यक्ष तिमिल्सिनाले अनुरोध गर्नुभएको छ।
वसन्त ऋतुको आगमनसँगै रङ्गिन उमङ्गसहित हाम्रो घरआँगनमा आएको यस पर्वमा ठुलो हुल, भिडभाड र तडकभडक नगरी अनुशासित र मर्यादित भई भयरहित ढङ्गले आपसी सद्भाव कायम राखी मितव्ययी रुपमा पारिवारिक वातावरणमा मनाउन उहाँको अनुरोध छ ।