Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामचन्द्रबाट सिक्नुपर्ने पाठ : प्रयासपछि सफलता (खास खबर) 

रामचन्द्रबाट सिक्नुपर्ने पाठ : प्रयासपछि सफलता (खास खबर) 

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 521
    SHARES

  • रामचन्द्रबाट सिक्नुपर्ने पाठ : प्रयासपछि सफलता (खास खबर) 
    काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गर्नुभयो । उहाँले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाउनुभएको छ । संघीय संसद् र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।
     
    राष्ट्रपतिमा निर्वाचित ७८ वर्षीय पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुन पोखरामा जन्मिनुभएको हो । उहाँ १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि उहाँ राजनीतिमा होमिनुभएको हो । कोइराला २०३३ सालमा भारत निर्वासनबाट फर्केपछि उहाँसँग निकट रहेर पौडेलले काम गर्नुभएको थियो ।
     
    उहाँले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाउनुभएको थियो । जो २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पनि हुनुहुन्थ्यो । पौडेल २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभयो । २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव, २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य र २०४० मा उहाँलाई पार्टीले केन्द्रीय प्रचार समिति संयोजक बनाएको थियो । २०४४ सालमा पौडेल केन्द्रीय सदस्य बन्नुभएको थियो । 
     
    पौडेलको संसद् यात्रा २०४८ को निर्वाचन तनहुँ १ बाट जितेपछि सुरु भएको थियो । त्यसपछि स्थानीय विकासमन्त्री, कृषिमन्त्री पनि बन्नुभयो । २०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित पौडेल २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बन्नुभएको थियो । उहाँ २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित हुनुभयो । २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेल २०५९ मा शान्तिमन्त्री बन्नुभयो । २०६२ सालमा कांग्रेस महामन्त्री पदमा पुग्नुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक बनेका पौडेल २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री हुनुभएको थियो । २०६४ सालमा उहाँ कांग्रेस उपसभापति बन्नुभएको थियो । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ—२ बाट निर्वाचित हुनुभयो भने २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बन्नुभएको थियो । 
     
    २०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा भने निर्वाचित बन्न सक्नुभएन । जति बेला माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेबाट झलनाथ खनाल उम्मेदवार बन्नुभएको थियो । तर, आठौं प्रतिस्पर्धापछि दाहाल दौडबाट बाहिरिनुभयो र त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गर्नुभएको थियो । निर्वाचनसम्बन्धी नियमावली परिवर्तन गरेपछि अर्को चरणमा खनालले विजय हासिल गर्नुभएको थियो । 
     
    २०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट विजयी हुनुभएका पौडेल २०७२ मा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापति बन्नुभएको थियो । त्यही वर्ष पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भएका पौडेलले २०७४ को निर्वाचन तनहुँ-१ बाटपनि पराजित हुनुपरेको थियो । यसपटक भने पौडेल तनहुँ—१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । नेपाली रेडियो नेटवर्क पौडेलको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ ।। 
     


    बिहिवार, फाल्गुण २५ २०७९०८:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij