Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

स्ववियु निर्वाचन : आरआर क्याम्पसमा उम्मेदवारी दर्ताका क्रममा विवाद, दुई समूहबीच खुकुरी हानाहान

स्ववियु निर्वाचन : आरआर क्याम्पसमा उम्मेदवारी दर्ताका क्रममा विवाद, दुई समूहबीच खुकुरी हानाहान

  • शनिवार, फाल्गुण २७ २०७९

  • 446
    SHARES

  • स्ववियु निर्वाचन : आरआर क्याम्पसमा उम्मेदवारी दर्ताका क्रममा विवाद, दुई समूहबीच खुकुरी हानाहान
    काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार(आज) दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।
     
    एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ ।
     
    अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको जनाउनुभयो । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका हुन् । उहाँले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको बताउनुभयो ।
     
    ‘सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरू बोलाएर आक्रमण गर्न खोजियो, निर्वाचन बिथोल्न खोजियो,’ खड्काले भन्नुभयो ।
     
    पराजुलीले भने उक्त आरोप अस्वीकार गर्नुभएको छ। ‘क्याम्पस प्रमुख र निर्वाचन अधिकृत मिलेर फर्जी विद्यार्थी भर्ना गरे । त्यसका लागि सर्वदलीय बैठक डाक्न माग गरेका छौं।’
     
    झडपपछि क्याम्पस बाहिर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आउजाउमा रोक लगाइएको छ ।
     
    विद्यार्थीहरू क्याम्पस बाहिर भेला भएका छन् भने भित्र क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीच वार्ता भइरहेको छ । नेविसंघका इकाई सभापति सञ्जीव ढकालले फर्जी विद्यार्थीको विषयमा विवाद हुँदा झडप भएको जनाउनुभयो ।
     
    क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दबाब र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् । मतदाता नामावली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।
     
    समितिको प्रतिवेदन सार्वजनिक नगरी मतदाता कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद बढेको थियो । विवादका कारण नेविसंघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
     
    आज देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि भोलिसम्मको समय थपेको छ ।


    शनिवार, फाल्गुण २७ २०७९०२:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij