काठमाडौं । एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले ५ चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन परिणामले अहिलेको गठबन्धन मुलुकको स्थिरता र विकासको बाधकका रूपमा रहेको सन्देश दिएको बताएको छ।
अध्यक्ष समिक बडालले आज प्रेस विज्ञप्ति प्रकाशित गरेर नयाँ पुस्ता युवा–विद्यार्थीको जनमत स्ववियु चुनावबाट गठबन्धन र अस्थिरताविरुद्ध देखिएको दाबी गर्दै त्यस्तो सन्देश दिएको बताउनुभएको हो ।
‘सम्पन्न स्ववियु चुनावले हामीलाई उत्साहित बनाएको छ । विभिन्न गठबन्धनलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी जुन परिणाम आएको छ, यसले हामीलाई थप शक्ति र हौसला प्रदान गरेको छ। नेपाली विद्यार्थी आन्दोलनलाई ऊर्जा थपेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन मुलुकको स्थिरता र विकासको बाधक हो भन्ने सन्देश आजको स्ववियु निर्वाचनको परिणामले देखाएको छ।’
स्ववियु निर्वाचनमा देशभरका धेरै क्याम्पसमा सरकारसम्बद्ध दशदलीय गठबन्धन संगठन र एमालेसम्बद्ध अनेरास्ववियुबीच चुनावी प्रतिस्पर्धा भएको थियो।
त्रिविका आंगिक, सामुदायिक र निजीसहित तीन सयवटा कलेजमा निर्वाचन भएर परिणाम आउने क्रम जारी रहँदा एक सय १७ वटा क्याम्पसमा सभापतिमा जित हासिल गरेको जनाएको छ।
अखिलले विज्ञप्तिमार्फत विभिन्न बहानामा निर्वाचन अवरुद्ध भएका क्याम्पसमा तत्काल निर्वाचन सम्पन्न गराउन सरकार, विश्वविद्यालय प्रशासन एवं सरोकारवाला पक्षहरूसँग अपिल गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनका लागि ध्यानाकर्षणसमेत गराएको छ।