काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे आफू चिन्तित रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीसँग भट्दै राष्ट्रपतिले यस्तो बताउनुभएको हो ।
चेम्बरले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले भेट गरेको हो ।
चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु ।’
वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताउनुभयो । मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।
राष्ट्रपतिसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ ।