काठमाडौं । मिटरब्याज पीडितका विषयले आज संसद् तातेको छ । विभिन्न सांसदहरूले आआफ्ना धारणा पेस गर्दै कतिले बैंकको मनोमानी भनेका छन् भने कतिपयले राजनीतिक संरक्षणमा साहु महार्जन भएकोले पीडितले सधैँ पीडा भोगिरहेको बताएका छन् । सप्तरीका मात्रै होइन यो समस्या समाधान चाँडो हुन नसके देशका विभिन्न ठाउँहरूबाट मिटरब्याजी काठमाडौंमा उत्रिने सांसदहरूको धारणा छ । सर्लाहीबाट पनि ऋणीहरू काठमाडौं आउने तयारीमा रहेकोले समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने सांसद प्रदीप पौडेलको भनाइ छ ।
गरिब विपन्न नागरिकको भावनामाथि खेलबाड गर्दै लिएको ऋणलाई बढाएर कपाली तमसुक बनाउने प्रवृत्तिका कारण सोझा नागरिक प्रताडित हुने रहेका छन् । बैंकिङ कारोबारको झन्झट, धितो राख्न जग्गा नपुग्नेलगायतका समस्याका कारण नागरिकहरू चर्को ब्याजमा ऋण लिन बाध्य हुनुपरेको सांसद भगवती चौधरीको भनाइ छ ।
विभिन्न वर्ग समुदायमाथि पटकपटक अपमान भइरहेको पाइन्छ । पछिल्लो समय आर्थिक कारोबारबाट समेत विपन्न वर्गका नागरिकहरू अपहेलित हुनु परिरहेको छ । सांसद हितबहादुर तामाङले काखीमा दुधे बालक च्यापेर ११ दिनको पैदल दूरी पार गर्दै काठमाडौं आएका नागरिकहरूको पीडा असह्य रहेको बताउनुभयो । राज्यबाट होस्, वा साहु महार्जनका नाममा नागरिकलाई पटकपटक यातना भइरहेको छ ।
तराईमा बैंकहरूको मनोमानीका कारण पनि नागरिकहरूले पीडा भोगिरहेको सांसद प्रभु साहको दाबी छ । तराईका जिल्लाहरूमा ऋण प्रवाहको साटो निक्षेप मात्रै संकलन गर्ने बैंकहरूको मनोमानीले नागरिकले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।
सरकारले मिटरब्याजलाई आपराधिक क्रियाकलाप अन्तर्गत राख्ने निर्णय गरेपनि पीडितले आश्वासनका पोका बाहेक केही बोकेर गएका छैनन् । उखु व्यवसायीको आन्दोलन होस् वा मिटरब्याजको आँखा अगाडि हुञ्जेलसम्म मात्रै पन्छ्याउने पछि बिर्सने पद्धतिका कारण नागरिकहरूले दुख पाइरहेका छन् । मुलुकमा हुने यस्ता आपराधिक क्रियाकलापको अन्त्यका लागि सरकार गम्भीर बन्नैपर्छ ।