काठमाडौं । एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गर्नुभएको छ।
प्रतिनिधिसभा बैठकको आइतबार(आज) शून्य समयमा बोल्दै उहाँले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले मिटरब्याज पीडितहरूलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरूलाई कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।
‘मिटरब्याजीबाट पीडित नागरिकहरूमाथि फेरि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनु पर्छ । र, तत्काल पीडकहरूले कारबाही पाउनु पर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’उहाँले भन्नुभयो ।
त्यस अवसरमा सांसद गैरेले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।