काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा बिहीबार(आज) एक खेल हुँदैछ ।आजको खेलमा कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुनेछ । यो खेल दुवै टोलीको यस सिजनको दोस्रो खेल हो । पहिलो खेलमा बेंग्लोरले घरेलु मैदानमा मुम्बई इन्डियन्सलाई ८ विकेटको सहज जित निकालेको थियो । बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।
पन्जाबको घरेलु मैदानमा पहिलो खेलमा डीएल मेथडमा ७ रनले पराजित कोलकत्ता पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा जित हात पारेको बेंग्लोर २ अंकका साथ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।
उता, पहिलो खेलमा हार व्यहोरेको मुम्बई २ अंकका साथ नवौं स्थानमा रहेको छ । पहिलो खेलमा झैँ वानिन्दु हसरंगा तथा जोस हेजलउड टोलीमा उपलब्ध रहेका छैनन् । युवा ब्याटर रजत पाटिदारले यस सिजनको पूरै आईपीएल गुमाइसकेकाले उनी पनि उपलब्ध हुने छैनन् ।
पहिलो खेलमा चोट बोकेका रिच टोप्ली पनि आजको खेलमा नहुने सम्भावना रहेको छ । कोलकत्ताले शकिब अल हसनको स्थानमा टोलीमा अनुबन्ध गरेको जेसन रोय आइतबारको गुजरातविरुद्धको खेलमा उपलब्ध हुनेछन् ।