काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाख अन्तिम साता भारतको भ्रमण गर्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने जनाइएको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयम्ले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिनुभयो ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड घरेलु राजनीतिक ‘उतार–चढाव’का कारण करिब ४ महिनापछि पहिलो विदेश भ्रमणमा जाने हुनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणको लागि परराष्ट्रमन्त्री नियुक्त गर्न आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणका एजेण्डाहरूको विषयमा १ तहको संवाद अगाडि बढेको बताइए पनि परराष्ट्रमन्त्री नियुक्त भएपछि मात्रै औपचारिक रुपमा संवाद अगाडि बढ्ने बताइएको छ ।
नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री हुने पक्का भएको छ । साउदले परराष्ट्रमन्त्रीको पदभार सम्हालेपछि दुवै देशका परराष्ट्रमन्त्रीको स्तरमा भ्रमणका एजेण्डा तय हुने बताइएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ ।