काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ। निर्वाचन आयोगका अनुसार करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहनुभएको छ । उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ४३०३ मत प्राप्त गर्नुभएको छ ।
सोमबार(आज) बिहान ६ बजेको अद्यावधिक विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १९३३ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ११९३ मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ ।
यसैगरी नेकपा समाजवादीका उम्मेदवार गणेश श्रेष्ठले हालसम्मको मतगणनाअनुसार जम्मा १ मत पाउनुभएको छ। यस्तै नेमकिपाका रामप्रसाद पराजुलीले ३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले १३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १२ मत पाउनुभएको छ भने राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले पनि १४ मत पाउनुभएको छ । यसैगरी राप्रपाका शोभा गुरुङले २५ मत पाएको आयोगले जनाएको छ । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।