काठमाडौं । कोरोना भाइस संक्रमणबाट नेपालमा पछिल्लोपटक थप ४ जनाको मृत्यु भएको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको गएराति सवा दुई बजे मृत्यु भएको हो । गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो । उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै, मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको हिजो साँझ मृत्यु भएको हो । उनी गत भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।
उता, मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।
बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्धको आज बिहान मृत्यु भएको अस्पताल प्रशासन प्रमुख सुधिरसिंह राठौरले जानकारी दिनुुभयो ।
यसैगरी, बर्दियाका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका –७ का ६४ वर्षीय उनको मंगलबार साँझ मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।