काठमाडौं । अनुगमनको क्रममा काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट बिक्री गर्ने भएको छ ।
बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने तयारी अन्तिम अवस्थामा पुगेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो ।
बुधबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको थियो ।
आजबाटै प्याजको बिक्री थाल्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट मात्रै प्याज बिक्री सुरु गरिने सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
व्यापार कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र, थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । एकजना ग्राहकले एकपटकमा तीन किलोसम्म मात्रै प्याज किन्न पाउनेछन् ।
बिक्री मूल्यको ५२ रुपैयाँ सरकारको राजश्व खातामा जाने र ८ रुपैयाँ प्रतिकिलो भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पाीले जनाएको छ ।