एजेन्सी । उरुग्वेयन फरवार्ड लुइस सुवारेज एथ्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । ३३ वर्षीय सुवारेजलाई एथ्लेटिकोले ला–लिगा प्रतिद्वन्दी क्लब बार्सिलोनाबाट अनुबन्धन गरेको हो ।
एथ्लेटिकोले ६ मिलियन युरो खर्चिएर ३३ वर्षीय सुवारेजलाई क्लब भित्र्याएको हो । क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुवारेज एथ्लेटिको आएका हुन् । सुवारेजले एथ्लेटिकोसँग दुई वर्षको सम्झौता गरेका छन् ।
इटालियन क्लब युभेन्टससँग अनुबन्धको नजिक पुगेका सुवारेज प्राविधिक कारणले लिगा क्लबमै फर्किएका हुन् । नागरिकताको समस्याको कारण सुवारेज इटाली जान असमर्थ भएका थिए ।
सुवारेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए । बार्सिलोनाका लागि सुवारेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् ।