काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका विषयमा तीन प्रमुख दलबीच मात्रै छलफल नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सभापति लामिछानेले राष्ट्रिय सरोकारका विषयमा कुरा गर्दा संसदका अरु दललाई पनि बोलाउन आग्रह गर्नुभएको छ ।
‘तीन दल बसिरहनुभएको छ । रास्वपा चौथो दल हो, जनमत पार्टी छ, राजेन्द्र लिङदेन पुरानै भएपनि नयाँ अभिमतसहित आउनुभएको छ, यसतर्फ ध्यान दिनुहोस्’ लामिछानेले प्रचण्डसँगको संवाद सुनाउनुभयो ।
अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन चलिरहँदा ठूला तीन दलका नेता मात्रै निरन्तर छलफल गर्नुले आशंका जन्मिएको लामिछानेले प्रचण्डलाई सम्झाउनुभएको थियो । ‘यो प्रकरणमा बालकृष्ण खाँण जोडिनुभएको छ, टोपबहादुर रायमाझी पहिले माओवादी हो, तपाईहरु मात्रै नबस्नुहोस्’, प्रधानमन्त्री प्रचण्डलाई लामिछानेको आग्रह छ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले अहिले तीन पार्टीका नेताहरुबीच भइरहेको कुराकानी अरु नै विषयमा भएको बताउनुभएको थियो ।