काठमाडौं । कोरोना भाइरस रोकथाममा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले कोभिड –१९ परीक्षण गरेपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन सुझाव दिएको छ ।
सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज आफ्ना सुझाव संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको छ ।
सुझावमा पिसिआर रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबहरुलाई एकीकृत रुपमा समन्वय गर्न र पिसिआर ल्याब क्षमताअनुसार सञ्चालन गर्न भनिएको छ । ल्याबमा दक्ष जनशक्ति व्यवस्था गर्न र पूरासमय मेसिन चलाउन पनि उपसमितिले सुझाव दिएको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत संक्रमितलाई पिसिआर रिपोर्ट छिटो जानकारी गराउन उपसमितिले सुझाव दिएको छ ।
उपसमितिले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने व्यवस्था गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा दक्ष जनशक्ति, आइसियु र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएको छ ।