काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेक हिरासतमा राखिएको छ ।
काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको हो । रायमाझी हिजो साँझ प्रहरीले बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो ।
रायमाझीलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने छ । थप अनुसन्धानका लागि म्याद अनुमति लिन रायमाझीलाई अदालतमा उपस्थित गराइन लागिएको हो । रायमाझीको नाममा वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसदिन उनी अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । त्यसैदिन बेलुका काठमाडौं फर्किने समयतालिका रहेको भए पनि उनी सम्पर्कविहीन थिए ।
उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले त्यसै दिन (वैशाख २० गते) पक्राउ गरेको थियो । नेकपा एमालेले बुधबार मात्रै रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको थियो । उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा हालसम्म रायमाझीसहित १३ जना पक्राउ परेका छन् ।