काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले भ्रष्टाचारविरुद्धको कारबाहीमा आफ्नो पार्टी चुप लागेर नबसेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै राणाले भन्नुभयो, ‘भ्रष्टाचारको खिलाफमा हामी हाउसमा कुरा उठाइरहेका छौं । भातृसंगठनले आन्दोलन गरे । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । सडक र सदनबाट सचेत गराइरहेका छौं । भ्रष्टाचारीलाई जोगाउन मिलेमतो गर्न पाइन्न, जेलै हाल्नुपर्छ भनेर सरकारमाथि दबाब दिन आज काठमाडौंको वसन्तपुरमा आमसभा गर्दैछौं । राप्रपा कहाँ चुप लागेर बसेको छ र ?’ उहाँले आफ्नो पार्टीबाट कोही भ्रष्टाचारी प्रमाणित भए तत्काल कारबाही गर्ने पनि बताउनुभएको छ ।
नेता राणाले आज संसद्मा आफूहरूले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘लडाकु शिविरमा अर्बौं रुपियाँको भ्रष्टाचार भएका सबैका अगाडि प्रस्ट छ । शिविरमा कति जना थिए, तिनका नाममा कति पैसा लिए ? कति नक्कली मान्छेलाई पैसा गएको छ । त्यस विषयमा श्वेतपत्र निकाल्ने र छानबिन समिति बनाउन आज हामी प्रधानमन्त्रीलाई प्रश्न सोध्दैछौं ।’
उहाँले हिन्दुराष्ट्रका विषयमा बोल्न राप्रपालाई भारतीय जनता पार्टीले पैसा दिएको भन्ने अमेरिकी विदेशमन्त्रीको आरोपको खण्डन पनि गर्नुभयो । राणाले भन्नुभयो, ‘म पार्टीको जिम्मेवार मानिस हुँ । त्यस्ता कुरामा म विश्वास गर्दिनँ । राप्रपाले हिन्दुराष्ट्रका लागि कसैसँग एक रुपियाँ लिएको मलाई जानकारी छैन । त्यो गलत कुरा हो । राप्रपालाई भाजपाले पैसा दिएको भन्छ भने त्यो अमेरिका नै जानोस् ।’ नेपालमा हिन्दूराष्ट्र पुनर्स्थापना लागि भारतको मात्र नभएर विश्वभरिका हिन्दुको सहयोग र समर्थन आह्वान गर्ने पनि राणाले बताउनुभयो ।
राजासहितको प्रजातन्त्र आफ्नो पार्टीको मूल ध्येय भएको पनि राणाले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताले जसलाई विश्वास गरेर पठाए, उसैले नै जनतालाई बेच्दै छ । अब हामी धर्मनिरपेक्षता ल्याउने मात्र होइन, भ्रष्ट र चोर नेतालाई हटाएर राजासहितको प्रजातन्त्र स्थापना गर्न लागेका छौं । अहिलेकै नेताले भ्रष्टाचारीलाई जेल हाले हाल्छन्, नहाले जनताले नै विस्थापित गर्छन् ।’
जेठ ६ गते धनगढीमा हुने भनिएको पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन स्थगित हुन सक्ने पनि राणाले बताउनुभयो । साथै उहाँले राप्रपाको ‘रिब्रान्डिङ’ गरेर तीन महिनामा नयाँ, मजबुत र चलायमान पार्टी बनाउने उद्घोष पनि गर्नुभयो ।