काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाउने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै कडायतले भन्नुभयो, ‘हामीले हिजो नै बुझाउने तयारी गरे पनि केही काम बाँकी रह्यो । आज फस्ट आवरमा सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी छ । अफिस खोलेको केही समयमै प्रतिवेदन गइहाल्छ,।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरी कसैलाई जोगाउन वा कसैलाई फसाउन नलागेको पनि कडायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय व्यक्तिलाई नियन्त्रणमा लिएका छौं, कतिपय फरार छन् । तर सबैलाई एकै किसिमले ट्रिट गर्ने हो । पहिलो कुरा त यथेष्ट प्रमाणबिना पक्राउ पुर्जी नै जारी हुन्न । व्यक्तिको संलग्नता र भूमिकाका आधारमा कसलाई कुन मुद्दा चलाउने भनी माग दाबी गरेका छौं । दोषी सबै अनुसन्धानको दायरामा आउँछन् ।’
यस प्रकरणका दोषीलाई राज्यद्रोह, ठगी, संगठित अपराध, अख्तियारको दुरुपयोग, सम्पत्ति शुद्धीकरण आदि मुद्दा आकर्षित हुने पनि कडायतले औंल्याउनुभयो । सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि पनि अनुसन्धान नरोकिने प्रहरी प्रवक्ता कडायतले बताउनुभयो ।