काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले नवीनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘रास्वपा रचनात्मक प्रतिपक्षको भुमिकामा उभिएको छ । हामी भन्छौँ, परम्परा धान्नलाई ल्याइएको दस्ताबेज हो । र परम्परा धानिएको पनि छ । नविनता, ऊर्जा, प्रेरणा, महत्त्वाकांक्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौँ होला ।’
उहाँले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताउनुभयो । वाग्लेले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गर्नुभयो।