Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काम सकेको वर्षदिन बितिसक्दा पनि मजदुरले पाएनन् पारिश्रमिक, ठेकेदार सम्पर्कविहीन

काम सकेको वर्षदिन बितिसक्दा पनि मजदुरले पाएनन् पारिश्रमिक, ठेकेदार सम्पर्कविहीन

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.8K
    SHARES

  • काम सकेको वर्षदिन बितिसक्दा पनि मजदुरले पाएनन् पारिश्रमिक, ठेकेदार सम्पर्कविहीन

    काठमाडौं । प्युठानको बाग्दुला–लुप्चुङ चुनढुंगा सडक विस्तारको जिम्मा ठेकेदार कम्पनी ‘सूर्य कन्स्ट्रक्सन’ले पायो । तर, सूर्य कन्स्ट्रक्सनले सम्पूर्ण काम सम्पन्न गर्ने जिम्मा पर्वतका सरोज भनिने शरद ढकाललाई दियो । ढकालमार्फत सडक निर्माणको काममा जोडिएका एक मजदुर (ड्राइभर) हुन् दीपक रोका । उनी सडक निर्माण कार्यमा आवश्यक सामान ढुवानी गर्ने ड्राइभरका रुपमा कार्यरत थिए ।

    उक्त सडक निर्माणको काम गएको आर्थिक वर्षमा नै सकिएको तर आफूहरुले पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म नपाएको सुनासो उनी सुनाउँछन् । ‘काम ०७६ असार मसान्तमै सकिएको हो’, नेपाली नेटवर्कसँग कुरा गर्दै उनले भने, ‘तर, अहिलेसम्म हामीले पाउनुपर्ने पारिश्रामिक पाएका छैनौं ।’

    कामको मुख्य जिम्मेवारी लिएका ठेकेदार ढकालमार्फत आफूहरुले भुक्तानी पाउनुपर्ने भएपनि अहिले उनी आफै सम्पर्कबिहीन भएको रोकाले बताए । ‘हामीले कामको मुख्य जिम्मेवारी लिएका सरोज ढकालबाट भुक्तिनी पाउनुपर्ने हो । तर अहिले उनी आफै फोन अफ गरेर सम्पर्कबिहीन छन्’ उनले भने ।

    रोकाका अनुसार ढकालमार्फत श्रमिकको मात्र नभई सिमेन्ट, हार्डवेर सप्लायर्स, रासन र घर भाडालगायतका भुक्तानीसमेत बाँकी छ । सिमेन्ट सप्लायर्स कम्पनीले भने पटक–पटक ताकेता गरेर रकम भुक्तानी नभएपछि ठेकेदार ढकालको स्कार्पियो गाडी नै जफत गरेको छ । ‘पहुँचवाला ठूला व्यापारीले त जे–जसरी भएपनि असुल गर्छन्’ रोका गुनासो गर्दै भन्छन्, ‘तर हामी सामान्य मजदुरको त कुनै विकल्पनै छैन । यत्ति लामो समय लकडाउन भयो, अरु काम गर्न पाइएन । अब त जीविको चलाउनै कठिन होला जस्तो भइसक्यो ।’

    Bagdula_Chundhunga sadak_2.jpeg

    रोकासँगै मजदुरी गर्ने अन्य सयौं मजदुरको समेत गरी करिब ४५ लाख भुक्तानी हुन बाँकी रहेको रोका बताउँछन् । कोरोना भाइरस महामारीपछि जमघट प्रतिबन्ध लगाइएका कारण आफूहरु सडक आन्दोलन भने नउत्रिएको उनले बताए । ‘हामीले कुनै विकल्प नदेखेपछि सबै श्रमिक सडक आन्दोलनकै तयारीमा जुटेका थियौं । तर, धेरै मानिस जमघट हुन प्रतिबन्ध लगाइएका कारण हामी सडकमै चाँहि निस्केनौं ।’

    यसरी सडक विस्तारको काममा खटिएका मजदुरलाई सरकारी रोजगारदाता निकायले नै बेवास्ता गरेकोप्रति प्युठानका सर्वसाधारण आक्रोशित बनेका छन् ।

    ठेकेदार कम्पनीको स्पष्टीकरण यस्तो

    डेन्डरमार्फत सडक निर्माणको मुख्य जिम्मा पाएको ‘सूर्य कन्स्ट्रक्सन’ले भने सम्पूर्ण कामको जिम्मेवारी पर्वतका शरद ढकाल (सरोज)लाई दिइएको र यसबारे आफ्नो भूमिका नरहेको स्पष्टिकरण दिएको छ ।

    ‘ठेक्काको सम्पूर्ण नाफाघाटा सबै उहाँ(ढकाल)ले नै ब्यहोर्ने गरी हामीबीच कागज भयो’ सूर्य कन्स्ट्रक्सनका प्रमुख सूर्य खड्काले भने, ‘त्यस काममा सबैको भुक्तानी गर्ने मिलाउने काम पनि उहाँकै हो, हर्जना लाग्यो वा मुद्दा लड्नुपर्‍यो भने पनि उहाँकै हो, नाफा भएपनि उहाँकै र घाटा लागेपनि उहाँकै हो ।’ यसबारे आफ्नै कुनै भूमिका नरहेको खड्काको स्पष्टोक्ति छ । खड्काले एक प्रतिशत अडिट खर्चबाहेक आफूले आफ्नो फारम प्रयोग भएबापत थप कुनै रकम नलिएको दाबीसमेत गरेका छन् ।

    Bagdula_Chundhunga sadak_3.PNG

    खड्काका अनुसार अर्थ मन्त्रालयबाट बजेट निकासा नभएकै कारण सबै भुक्तानी रोकिएको हो ।

    ‘उहाँ(शरद ढकाल)ले पनि उता (अर्थ मन्त्रालय)बाट बजेट आएपछि नै भक्तानी गर्ने हो’ उनले भने, ‘श्रमिकले पनि उहाँलाई विश्वास गरेर काम गरे, अहिले भुक्तानी नपाउँदा उहाँ(शरद) श्रमिकहरुले डरले लुकेर बस्नुपर्ने अवस्था छ । व्यावारीले उहाँको स्कार्पियो पनि जफत गरेका छन् ।’
    सम्बन्धीत निकायबाट रकम निकासा भएर नपुग्दा यस्तो अवस्था आएको खड्काको भनाइ छ ।

    के भन्छ सडक डिभिजन ?

    सडक डिभिजन, प्युठानले केन्द्र सरकारले नै यसबारे बेवास्ता गर्दा श्रमिकहरुको भुक्तानी रोकिएको बताएको छ । सडक डिभिजन प्युठानका डिभिजनल इन्जिनियर विनोदप्रसाद सापकोटाले अर्थ मन्त्रालयले बजेट नछुट्याउँदा यस्तो अवस्था आएको बताए ।

    Sadak division pyuthan.jpg

    सापकोटाले भने, ‘माथि(अर्थ मन्त्रालय)बाट बजेट नछुट्याएको हो । यता, हामीले गर्ने सबै प्रक्रिया पूरा गरेका छौं ।’

    मुलुकमा भइरहेका, हुने क्रममा रहेका र सम्पन्न भइसकेका विकास निर्माणबारे मुख्य जिम्मेवार निकायले नै बेवास्ता गर्दा कतिपय आयोजनाका काम अलपत्र परेको गुनासो आउने गर्छ । भएका काम पनि गुणस्तरहीन छन् भने कुनै योजना सम्पन्न भएको एक वर्ष नाघिसक्दा पनि भुक्तानी हुन सकेको छैन ।


    शुक्रवार, आश्विन ९ २०७७०३:०१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij