Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पशुपतिमा सुनको जलहरी लगाउँदा हिनामिना भएको माओवादी सांसदको आरोपपछि एमाले आक्रोशित, संसद्मा हंगामा(खास खबर)

पशुपतिमा सुनको जलहरी लगाउँदा हिनामिना भएको माओवादी सांसदको आरोपपछि एमाले आक्रोशित, संसद्मा हंगामा(खास खबर)

  • शुक्रवार, जेठ १२ २०८०

  • 643
    SHARES

  • पशुपतिमा सुनको जलहरी लगाउँदा हिनामिना भएको माओवादी सांसदको आरोपपछि एमाले आक्रोशित, संसद्मा हंगामा(खास खबर)
    काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको मूर्ति हटाएर सुनको जलहरी लगाउने कार्यलाई कार्यान्वयन गराएका तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सुनको जलहरीका ठाउँमा पित्तल प्रयोग भएको बताएपछि एमाले आक्रोशित बनेको छ ।
     
    आजको प्रतिनिधि सभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफलमा भाग लिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेपनि सुरुमै एमालेले संसद् अवरोध गरेको थियो । एमालेले आफ्नो पार्टीमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिँदै माओवादी केन्द्रका सांसद दाहालले बोलेको अडियो संसद्को रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी गरेको छ । 
     
    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले नेता एवं सांसद सुवासचन्द्र नेम्बाङले सत्तापक्षले लगाएको आरोपलाई टाउकोमा बोक्न नसकिने बताउँदै दूधको दूध, पानीको पानी छुटाउन आग्रह गर्नुभयो । 
     
    एमालेका प्रमुख सचेतक पदम गिरीले पशुपतिको गर्भमा लगाइएको जलहरी सुन हो की पित्तल हो भन्ने जवाफ सरकारबाट आउनुपर्ने बताउनुभयो । उहाँले यथार्थ कुरा बाहिर ल्याउनुपर्ने बताउँदै नेपाली जनताले समेत थाहा पाउनुपर्ने उल्लेख गर्नुभयो । 
     
    बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले संसद्लाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताइरहेका बेला एमालेले बेल घेराउ गरेको थियो । एमालेले प्रधानमन्त्रीको जवाफ मागेको थियो । 
     
    जेठ १० गते बसेको संसद् बैठकमा माओवादी केन्द्रका सांसद दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको उल्लेख गर्नुभएको थियो । उहाँले ओली प्रधानमन्त्री भएका बेला नेपालको वैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्न गर्नुभएको थियो  भने पशुपतिनाथको मन्दिरमा सुन भन्दै पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो । साथै दाहालले यसको छानबिन हुनुपर्ने पनि बताउँदै आउनुभएको छ । 
     
    महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौं रुपैयाँ बराबरको सुन हराएको आशंका गरेको थियो । प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झन्डै १ अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो । ९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो । 
     


    शुक्रवार, जेठ १२ २०८००८:००:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij