काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘प्राज्ञिक क्षेत्रमा तपाइहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राध्यापकहरू अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।’
शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावरणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठ्यक्रमहरू निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने उहाँले भन्नुभयो ।
विश्वविद्यालयहरू पाठ्यक्रमहरू र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो ।
देशमा व्याप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मूल गर्दै सुशासन कायम गर्न लागिपरेको प्रधानमन्त्रीले बताउनुभयो ।
साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिनुभयो । उच्चस्तरीय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।
जटिल परिस्थितिकाबीच नीति कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम अनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताउनुभयो।