काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर त्यहाँका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार(आज) विज्ञप्ति जारी गर्दै उसले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रदर्शनलाई हिंसात्मक बनाउन आग्रह गरेको पनि गरेको छ ।
’नागरिकको शान्तिपूर्ण भेला हुने र विचार राख्ने अधिकारको सम्मान गर्न, कुनै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँदा कानुनसम्मत विधि र मानव अधिकारमैत्री व्यवहार गर्न, विवादको विषयलाई वार्ता र संवादको माध्यमबाट टुंग्याउन, आम नागरिकले आफ्नो पेशा, व्यवसाय र गतिविधि निर्बाध रूपले गर्न सक्ने गरी भयरहित वातावरण सिर्जना गर्न र मानव अधिकारका मूल्यमान्यता ख्याल गरी प्रदर्शनकारीमाथि संयमित व्यवहार गर्न आयोग नेपाल सरकार, कोशी प्रदेश सरकार, सुरक्षा निकाय तथा सम्बद्ध सबैलाई आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले आफ्नो मागहरू राख्दा विधिसंगत, शान्तिपूर्ण र मर्यादित ढंगले राख्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार प्रभावित हुने गतिविधि नगर्न तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन प्रदर्शनकारीहरूलाई अनुरोध पनि गरेको छ ।
’राजनीतिक दलहरूले पनि प्रदर्शनलाई हिंसारहित तथा शान्तिपूर्ण बनाउन तथा वार्ता र संवादकै माध्यमबाट समाधान खोज्नका लागि सार्थक भूमिका निर्वाह गर्न आयोग राजनीतिक दलहरूलाई समेत अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन प्रदेश १ को नाम कोशी प्रदेश राखिएपछि सो प्रदेशमा पहिचानको आधारमा नामाकरण गरिनुपर्छ भन्ने पक्षधरहरूले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । सो क्रममा एक जनाको ज्यान पनि गइसकेको छ भने कैयौँ घाइते भएका छन् ।