काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुश गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’
साभापति लामिछानेले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उहाँको ठहर छ । ‘नागरिकता विधेयकमा हामीले त्यतिबेला नै तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक रोक्दा हामीले संविधान विपरीतको काम भयो भनेका थियौँ । तर दलहरूको अकर्मण्यता पनि भयो सही बाटोबाट सही ढङ्गबाट ढोकाबाट नल्याइसकेपछि प्रक्रिया नपुर्याइसकेपछि यस्तै हो भनेका थियौँ । पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौँ । हामीले वैवाहिक अङ्गीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ ।’
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताउनुभयो। उहाँले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गर्नुभयो । सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि उहाँले जिकिर गर्नुभयो ।