Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने

बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने

बजेटमा सत्तापक्षकै सांसद छैनन् सन्तुष्ट, प्रतिपक्षद्वारा चर्को विरोध
  • आइतवार, जेठ २८ २०८०

  • 558
    SHARES

  • बजेटमाथिको छलफल सकियो, भोलि अर्थमन्त्रीले जवाफ दिने
    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा प्रतिनिधिसभाका सांसदहरूले बोल्ने क्रम सकिएको छ । आज बजेटमाथि सांसदहरूले बोल्ने क्रम सकिएसँगै भोलिको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ २९ गते भोलि दिउँसो १ बजेलाई तोकिएको छ । 
     
    अर्थमन्त्री महतले गत जेठ १५ गते २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान संसद्मा पेस गर्नुभएको थियो । जेठ २२ गतेबाट प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल भइरहेको थियो ।
     
    आज बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री प्रकाशशरण महतद्वारा प्रस्तुत बजेटमा ‘गेम चेन्ज’मा होइन, कार्यक्रम र आयोजनाको ‘नेम चेन्ज’मा उद्यत रहेको टिप्पणी गर्नुभएको छ  । उहाँले बजेटमा कुनै नयाँपन नभएको बताउनुभयो ।
     
    पौडेलले कैयौं महत्त्वपूर्ण सडक, आधारभूत अस्पताल, बाँकी रहेको भूकम्पपछिको पुनर्निर्माण, विद्यालय भवन, औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम, हरेक प्रदेशमा निर्माण गरिने सरकारी स्वामित्वमा मेडिकल कलेज आदिका लागि न्यून बजेट विनियोजन गरिएको बताउनुभयो ।
     
    सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाउनुभएको छ । सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको सांसद गिरीको भनाइ थियो ।  सांसद गिरीले निर्वाचन क्षेत्रमा खसी मर्दा, कोही व्यक्ति हराउँदा, पहिरो जाँदा पनि सहयोग पाउँ भनेर फोन आउने गरेको बताउनुभयो । 
    सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटको विरोध गर्नुभएको छ । उहाँले नीति तथा कार्यक्रमसँग मेल खाने बजेट नल्याइएको र अर्थमन्त्री प्रकाशशरण महतले चलाखी गरी बजेट ल्याएको आरोप लगाउनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका सांसद शाहीले मन्त्री र ठुला नेता केन्द्रित योजना आएको बताउनुभयो ।  मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा अर्बौंका योजना लगेको र बजेट पास गर्नका लागि सांसदहरूलाई पाँच करोड छुट्याइएको उहाँको भनाइ थियो ।
     
    बजेटमाथिको छलफलमा बोल्दै आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले क्यापिटल फ्लाई अर्थात् पुँजी पलायनको गम्भीर मुद्दा उठान गर्नुभएको छ । सांसद साहले प्रश्न गर्नुभयो, ‘घर भाडा समेत विदेशिएपछि देश कसरी संवृद्ध बन्छ ?’
    उद्योग,व्यवसायीदेखि सरकारी कर्मचारी, आम सर्वसाधारण उच्च वर्गदेखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताउँदै सांसद शाहले चिन्ता व्यक्त गर्नुभयो ।
     
    सत्तारूढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । उहाँले बजेटबारे सांसदहरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गर्नुभएको हो । 
     
     
     


    आइतवार, जेठ २८ २०८००४:०४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij