काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा बिचौलियाले अपचलन गरेको दाबी गर्नुभएको छ । बिहीबार(आज) प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा बिचौलियाले अपचलन गरेको आरोप लगाउनुभएको हो।
पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउँदै उनले गोठाटारको ३१ रोपनी जग्गा बिचौलियाले लिएर अपचलन गरेको बताउनुभयो। आलेले भन्नुभयो, ‘मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ। कोषका अध्यक्ष मन्त्री र पदाधिकारी मस्त निन्द्रामा छन्। गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसाबी गरेर ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका बिचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ। गोठाटारको जग्गाको विषयलाई सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टीकरण सोधिएको छ।’
सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको आरोप समेत लगाउनुभयो। उहाँले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन माग गर्नुभयो। उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो।