Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

  • बुधवार, आषाढ ६ २०८०

  • 742
    SHARES

  • मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा
    काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरू विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत जानुभएको छ।
     
    मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उहाँ सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ ।
     
    समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।
     
    उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाई समितिका तत्कालीन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।
     
    हालै कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरू विरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको छ र उक्त निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमडौंमा पेश भएको छ ।
     
    बुधबार पेश भएको निवेदन पेशीमा नचढेका कारण न्यायाधीशले सुनुवाइ गर्न अस्वीकार गरी अर्को दिन पेशी तोक्न आदेश गरेका थिए ।
     
    उपप्राध्यापक चलाउनेले मुद्दा फिर्ताको निर्णय तत्काल बदर नगरे अर्थहीन हुने भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा पेश गरेको निवेदनको सुनुवाइ रोक्न अन्तरिम आदेश माग गर्नुभएको छ ।
     
    विश्वविद्यालय हाताभित्र आफूमाथि मरणासन्न हुने गरी आक्रमण भएको, त्यो आक्रमणमा संलग्नहरूमाथि मुद्दा चलेको अवस्थामा सरकारले राजनीतिक संरक्षणका आधारमा आरोपितहरूलाई जोगाउन नहुने रिट निवेदनमा उहाँको दाबी छ । चलाउनेले रिट निवेदनमा मुद्दा फिर्ता लिने सबै प्रक्रिया रोक्न माग गर्नुभएको छ।
     
    सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ । चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसन पनि सुरु गर्नुभएको थियो ।
     


    बुधवार, आषाढ ६ २०८००२:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij