काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले सत्तापक्षका सांसदहरूको माग अनुसार बजेट संशोधन नहुने बताउनुभएको छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता रायमाझीले भन्नुभयो, ‘अहिलेसम्म बजेट संशोधन गर्ने अभ्यास र परम्परा छैन । गर्ने हो भने कतिपय कानुनी कुरा नै संशोधन गर्नुपर्छ । अब कताको बजेट काट्ने, कता हाल्ने ? डडेलधुराको काटेर रामेछाप कि ताप्लेजुङमा हाल्ने कि कता हाल्ने ? त्यसकारण बजेट फेल हुनु भनेको सरकारको काम फेल हुनु हो । प्रधानमन्त्रीको पद धरापमा पर्नु हो । त्यसकारण सरकार बजेट संशोधनमा लाग्छ भन्ने लाग्दैन,।’
अहिले संसद् र सरकारको कामै छैन जसरी छलफल चलिरहेको पनि रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रि–बजेट छलफल बढाउनुपर्थ्यो। छलफल गरेर पो बजेट ल्याउने हो, बजेट ल्याएर छलफल गर्ने होइन । हाम्रो बजेटमाथिको छलफल जहिल्यै कर्मकाण्डी नै छ । संशोधन गर्न सकिँदैन भने संसद् र सरकारको महिनौं समय खर्च किन गर्ने ? यो त सरकार र संसद्को कामै छैन जस्तो भयो ।’
नेपाली कांग्रेस सरकार परिवर्तनमा लाग्दै नलाग्ने पनि रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डको सरकार किन परिवर्तन गर्ने ? कोही व्यक्तिले बोलेको आधारमा सरकार परिवर्तन हुँदैन । पार्टीको संस्थागत र आधिकारिक धारणा हुनुपर्छ । बजेट पास भएर सरकारले केही न केही काम गरेको देखियो भने एमालेलाई चुनावमा जाने मुद्दा हुँदैन । सरकार परिवर्तनको हल्ला फिँजाए कर्मचारीले काम गर्न छाड्छन् भनेर उसले तिकडम गरेको हो । सरकार परिवर्तन हुँदैन, गर्नुहुँदैन ।’
फरक प्रसंगमा नेता रायमाझीले नेकपा एमाले जहिल्यै भ्रष्टाचारीको संरक्षणमा लाग्ने गरेको आरोप लगाउनुभयो।