काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँग आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरू प्राप्त भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गर्नुभयो ।
बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि उहाँले माग गर्नुभयो । बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यकबारे उहाँले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्विजिसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साहित हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रवर्द्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गर्नुभयो ।
हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सीएनआई उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे लगायत सहभागी थिए ।