काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो कुनै स्वार्थ भूमिका नभएको बताउनुभएको छ ।
उक्त प्रकरणमा आफ्नो प्रधानमन्त्रीकालमा मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै व्यक्तिले चिन्ता गरेको भन्दै उहाँले १९ महिने कार्यकालमा प्रक्रियागत ढंगले सयौं काम भएको र तीबारे प्रमले सबै सम्झनसक्ने कुरो नहुने जिकिर गर्नुभयो ।
तत्कालीन प्रमको हैसियतले आफूसँग जोडिएको विषय यति रहेको उहाँले जिकिर गर्नुभएको छ । ‘त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन’, भट्टराईले भन्नुभयो ।
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा आफूले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको पनि उहाँले बताउनुभयो । यस कुरामा आफू आजीवन प्रतिबद्ध रहेको उहाँको आश्वासन छ ।