काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कोरोना कहरको अहिलेको समयमा पनि सत्ताधारी शीर्ष नेताहरु सरकारको भागबन्डा र प्रमुख प्रतिपक्षी आन्तरिक भागबन्डाको रडाकोमा लागेकोप्रति कटाक्ष गर्नुभएको छ ।
ठूला दलका नेताहरु सत्ता र शक्तिका खेलमा लागेका कारण महामारीपीडित जनता पशुपतिनाथको भरमा बाँच्नुपरेको उहाँको भनाइ छ ।
‘सत्ताधारी पार्टीका शीर्ष नेता सरकारमा भागबण्डाको गलफत्तीमा !’ प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता पार्टीभित्र भागबण्डाको रडाकोमा !’ उहाँले ट्विटरमा लेख्नुभएको छ, कोरोना महामारीबाट पीडित पशुपतिनाथको भरमा !’
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ठूला दलका नेताहरुको अकर्मण्यताका कारण बेरोजगार श्रमिक र बिपन्न जनता आँशु बगाउँदै सडकमा जानुपरेको, बलात्कृत चेलीहरु पञ्चायतीमा तथा डा. गोविन्द केसी एक्लै अनशनमा बस्नुपरेको अवस्थामा आएको बताउँदै हामी कता ? भन्ने प्रश्न गर्नुभएको छ ।
‘बेरोजगार श्रमिक र बिपन्न जनता आँसु बगाउँदै सडकमा ! बलात्कृत चेलीहरू पञ्चायती फन्दामा ! डा केसी एक्लै अनशनमा !’, उहाँको प्रश्न छ, ‘हामी कता ?’
आफूलाई ‘नास्तिक’ बताउने भट्टराईले पशुपतिनाथको नाम लिएको भन्दै धेरैले ट्विटर प्रयोगकर्ताले आक्रोशसमेत पोखेका छन् ।
सुशील पोखरेलको प्रश्न छ ‘हिन्दुत्व मास्नेले पशुपतिको कुरा गर्ने नैतिकता कहाँबाट आयो ?’
