काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदको अवरोध खुलाउने विषयमा फेरि छलफलमा जुट्दैछन् ।
‘तीन नेताको बीचमा फेरि भेट गर्ने तय भएको छ । तर, आज आइतबार साँझ भेट्ने कि भोलि बिहान टुंगो लाग्न बाँकी छ’, एमाले अध्यक्ष ओलीको सचिवालयले भनेको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले पनि आइतबार बिहान भएको तीन नेताको सहमति कार्यान्वयनका सन्दर्भमा पुनः भेट गर्नुपर्ने निष्कर्षमा शीर्ष नेताहरु पुगेको तर, भेटको समय तय हुन बाँकी रहेको बताएको छ ।
‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको’ भनी विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै एमालेले गत बुधबारदेखि संसद चल्न दिएको छैन ।
आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग अध्यक्ष ओलीले भेटेपछि एमाले प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको थियो ।