काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार(आज) बस्दै छ । हिजो बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरत गौतमले सूचना टाँस गरेर बैठक असार २५ आज ३ बजेका लागि सारिएको जानकारी दिनुभएको थियो ।
यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सार्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरोध गरिरहेको छ ।
बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको हो ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेलगायत सम्भावित कार्यसूची रहेको छ ।