काठमाडौं । नेपालस्थित रुसी दूतावास अगाडि मानवअधिकारवादीहरूले प्रदर्शन गरेका छन् । आज रुस–युक्रेन युद्धको ५०५ औँ दिन मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको हो । विभिन्न नारा अंकित पोस्टरसहित प्रदर्शनमा सहभागीहरूले तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका थिए ।
प्रदर्शन पश्चात् रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापन पत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो । ज्ञापन पत्रमा युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव शान्ति समाजले गरेको उल्लेख गरिएको छ । यस्तै सन् २०२२ को फेव्रुवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध तत्काल अन्त्य गर्न आग्रह गरिएको छ ।
प्रदर्शनपश्चात् रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापन पत्र काठमाडौंस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
आजै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवालगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाहरूले प्रदर्शन गरेका छन् ।