काठमाडौं । आजबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले आफ्नो प्रतिवेदन पेस गर्नुभएको छ। पहिलो पटक प्रत्यक्ष प्रसारण गरेर सुरु भएको बैठकमा थापाले पार्टीले गर्नुपर्ने कामको क्यालेन्डर प्रस्तुत गर्नुभयो ।
महामन्त्री थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि सांगठनिक कार्यतालिका प्रस्तुत गर्नुभएको हो । थापाले प्रस्तुत गरिएको कार्यतालिकामा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, केन्द्रीय विभागको नेतृत्व, नयाँ सदस्यता लगायतका विषयमा ठोस प्रस्ताव गरिएको छ।
नेपाली कांग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउनेदेखि नयाँ सदस्य थप्ने उद्देश्यले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भनिएको छ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म पार्टी सदस्यता विस्तार अभियान चलाउने प्रस्ताव राख्नुभएको छ। महामन्त्री थापाले कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्नेगरी अभियान चलाइने बताउनुभयो।
१४औं महाधिवेशनसम्म कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ६६ हजार रहेको थियो। महामन्त्री थापाले आज १ वर्षका लागि कांग्रेसको कार्ययोजनासमेत प्रस्तुत गर्नुभएको छ ।
कांग्रेसका महामन्त्री थापाले पार्टीको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गर्नुभएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले केन्द्रमा २२ वटा विभाग थप गरेर विभागको जम्मा संख्या ७० पुर्याउन प्रस्ताव गर्नुभएको हो।
यसअघि विभागको संख्या ४८ भए पनि विधानमा भने अहिलेसम्म एउटा सूचना सञ्चार विभाग मात्र गठन भएको छ। विधानअनुसार ६ महिनामा गठन गरिसक्नुपर्ने भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको डेढ वर्षसम्म पनि विभाग गठनमा चासो दिनुभएको छैन ।
महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागलाई पूर्णता दिन प्रस्ताव गर्नुभएको छ । त्यस्तै पार्टी स्थापना दिवसमा पार्टीको कुनै पदमा बहाल रहेको प्रत्येक व्यक्ति आफू क्रियाशील रहेको वडामा पुगेर कुनै न कुनै सामाजिक कार्यक्रममा सरिक हुनुपर्ने लगायत प्रस्ताव गरिएको छ।