Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ दिनुपर्छ : शंकर पोखरेल

सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ दिनुपर्छ : शंकर पोखरेल

  • शनिवार, श्रावण ६ २०८०

  • 477
    SHARES

  • सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ दिनुपर्छ : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ दिनु पर्ने बताउनुभएको छ।

    सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एयरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ?’ भन्ने जवाफ दिनुपर्नेमा जोड गर्नुभएको हो ।

    उहाँले नेपालमा चल्ने अधिकांश मोटरसाइकल र स्कुटर भारतीय हुँदा हुँदै चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शङ्काको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न पनि गर्नुभएको छ ।

    एमाले महासचिवको प्रश्न जस्ताको तस्तै :

    सुन प्रकरणमा सत्तामा रहेका विशेष गरी माओवादी पक्षधरहरूबाट अरूको गालामा बियाँ टाँस्ने धन्दा जारी छ । उनीहरूबाट जो सत्तामा छ, ऊसँग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिँदै छ । के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरहरूले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनुपर्दछ भन्ने सत्ता पक्षीय दृष्टिकोण हो ?

    १०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ । बाहिर सुन समातिएका आधारमा एयरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनले उन्मुक्ति पाउँछ र ? अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ? हुँदैन । सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरूप्रति जबाफदेही बन्नै पर्दछ ।

    १. एयरपोर्ट भन्सारबाट १०० किलोभन्दा बढी सुन बाहिरिएको तथ्य सुराकीले दिएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनाबाट पुष्टि भएको छ । के यसमा एयरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनको मिलेमतो र जानकारी विना यस्तो कुरा सम्भव हुन्छ ?

    २. नेपालमा अधिकांश भारतीय उत्पादनका मोटरसाइकल प्रयोगमा छन् । तर मोटर साइकलको उपकरण चाही हङकङबाट त्यो पनि हवाई मार्गबाट पटक पटक आउनुलाई के स्वाभाविक मान्न सकिन्छ ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन ?

    ३. आयातकर्ता कम्पनीको मालिक एकजना दैनिक ज्यालादारीमा काम गर्ने अबोध मजदुर रहेको तथ्यले यो गिरोह कति धूर्त र पहुँचवाला रहेछ भन्ने देखिन्छ । यति ठुलो पैमानामा कारोबार हुने कम्पनीका बारेमा सरकार यसरी बेखबर बस्न मिल्दछ र ? अबोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्ता गर्ने र कारोबार गर्नेहरू को हुन् ? राज्यको निकायले खोज्नु पर्दैन ? सत्य तथ्य बाहिर ल्याउनु पर्दैन ?

    ४. कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठुलो पैमानामा सुन तस्करी भएको देखिन्छ । के अनुसन्धान त्यहाँसम्म पुग्नु आवश्यक छैन र ?

    ५. शासकीय जिम्मेवारी र दायित्व भनेको अरूले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा भने टकटकिने चाही होइन होला नि ? यस अर्थमा एयरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउ । राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौँ । आशङ्कित सबैलाई छानबिनको दायरामा ल्याउन विलम्ब नगरौँ ।

     


    शनिवार, श्रावण ६ २०८००१:२५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij